काठमाडौं– कम्युनिष्ट पार्टीको स्थापना दिवस अर्थात बैशाख ९ गते पार्टी एकता गर्ने गरी दुई ठूला दल एमाले र माओवादीले गृहकार्य गरिरहेका थिए । त्यसैले शीर्ष नेतादेखि तल्लोतहका कार्यकर्तासम्मले यहीँ किसिमको अभिव्यक्ति दिईरहेका थिए ।
तर, हिजो नाटकीय रुपमा नयाँ विषय प्रवेशले पायो । नयाँ विषय अर्थात एमाले र माओवादीबीचको पार्टी एकता प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपूर्व नै हुने गरी केही नेताका भनाई बाहिर आए । माओवादी नेता समेत रहेका उर्जा मन्त्री बर्षमान पुन र माओवादीकै अर्का नेता विश्वनाथ साहले प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकता हुने बताए ।
शनिवार विहान माओवादी हेडक्वाटरको बैठक बसेको थियो । बैठकले केही संगठनात्मक जिम्मेवारीमा हेरफेर गरेको थियो । बैठककै समाचार रिपोर्टिङकै क्रममा रातोपाटीले माओवादी नेता विश्वनाथ साहसँग कुराकानी गरेको थियो । उनले बैठकले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको भारत भ्रमणअघि नै पार्टी एकता हुनुपर्नेमा जोड दिएको जानकारी दिएका थिए । यही समाचार थियो, जसले ओलीको भ्रमण अगाडि एकताको विषय बहसमा ल्याएको थियो ।
दिउँसो अर्का नेता बर्षमान पुनल पनि यस्तै अभिव्यक्ति दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताएका थिए । पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा आज आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले आगामी १० दिनभित्रमा पार्टी एकता हुने गरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिएका थिए ।
उनले भनेका थिए, ‘प्रधानमन्त्रीको भारत भ्रमण अगावै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने गरी काम भइरहेको छ ।’ प्रधानमन्त्री केपी ओलीले चैत्र २३ गतेबाट भारत भ्रमण गर्ने समाचार आईरहेका छन् । सरकारीस्तरबाट भ्रमणवारे औपचारिक घोषणा चाहिँ भएको छैन् ।
शुक्रवारसम्म कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन पार्टी एकता गर्ने गरी नेताहरुले अभिव्यक्ति दिईरहेका थिए । अचानक के घटनाक्रम विकसित भयो र प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै पार्टी एकता गर्ने तयारी भयो ?
‘ओलीको भारत भ्रमणअघि नै दुई पार्टी एकता’
चैत २३ गते अगावै पार्टी एकता : मन्त्री पुन
हामीले विकसित घटनाक्रमवारे जान्न खोज्यौँ ।
शनिवार विहान माओवादी केन्द्रीय कार्यलयको बैठब बसेको थियो, जहाँ प्रचण्डले पार्टी एकताकोवारे विफ्रिङ गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि एकता गर्ने गरी आफु र प्रधानमन्त्री ओलीवीच संवाद भएको जानकारी गराए । त्यसपछि माओवादी नेताहरुले प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकता गर्ने सार्वजनिक अभिव्यक्ति दिन थाले ।
अहिलेसम्म एकताका लागि के के भएका छन् ?
दुवै पार्टीका शीर्ष नेता रहेको पार्टी एकता संयोजन समिति छ । गत ७ फागुनमा दुई दलबीच पार्टी एकताका लागि सातबुँदे प्रारम्भिक आधार तय भएपछि संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरिएको थियो ।
दुई दलले कार्यदलले आ–आफ्नो तरिकाले काम गरेका छन् । दुई कार्यदलले प्रारम्भिक काम गरिसकेका छन् । कार्यदलका रहेका धेरैजसो नेता मन्त्री भएपछि कार्यदल अलि सुस्ताएको थियो । कार्यदलमा रहेका नेताहरुका अनुसार गहन संवादमा लाग्ने हो भने कार्यदल दुई–चार दिनमै निश्कर्षमा पुग्ने गरी तयारी अबस्थामा छ । तीन सय देखि तीन सय ५० जनासम्मको केन्द्रीय समिति, एकसय नजिक पोलिटव्यूरो, ३५ जनाजतिको स्थायी समिति बनाउने गरी गृहकार्य भएको छ । पेशागत संगठनहरुको एउटै महासंघ बनाउने तयारी छ ।
पार्टी एकतापछि जनसंगठनहरुको एकता गर्ने गृहकार्य छ । एमालेमा २२ र माओवादीमा २४ जनसंगठन छन् । एकीकृत पार्टीले राष्ट्रिय पूँजीको विकाससहित समाजवादतर्फ अग्रसर हुने कुरालाई आफ्नो कार्यदिशा बनाउने भएको छ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने यसअघि नै सहमति बनेको छ ।
Source: Ratopati