–बिबिएम संवाददाता । फार्नबोरो । एशियन महिला एशोसियसन (आमा) ले विविध कार्यक्रमका साथ नेपाली नारीहरुको महान पर्व तीज मनाएको छ । गत आइतबार ९ सेप्टेम्बरका दिन फार्नबोरोस्थित सामुयल कोडी कलेजमा मनाइएको हो । प्रमुख बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीकी पत्नी पुनम राज्य लक्ष्मी सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा रशमुरका डेपुटी मेयर सुकार्टर, काउन्सिलर बर्बरा हर्स्ट र मिस युके नेपाल–२०१७ सिर्जना गुरुङलगायत महिलाहरुको बिशेष उपस्थिति रहेको थियो । करीब ५०० बढी नेपाली दिदिबहिनिहरुले विभिन्न तीजको गीतमा सामूहिक नृत्य गरी तीज पर्वलाई मनाइएको कार्यक्रममा प्रमुख अतिथि सुबेदीले सबै महिला दिदिबहिनीहरुलाई तीजको शुभकामना दिएकी थिईन् । कार्यक्रममा दुर्गा पुन, सुजना, मोनिका, अन्जोलालगायतले आकर्षक नृत्य प्रस्तुत् गरिन् । उक्त कार्यक्रम सस्थाकी महासचिव कल्पना गुरुङले सञ्चालन गरेकी थिइन् । सदा झै यसबर्ष पनि प्रस्तुत् गरिएको नृत्यमा बेस्ट डान्सर हजुरआमा माइली गुरुङ, बेस्ट डान्सर आमा सुनमाया रोका र बेस्ट डान्सर अस्मिता थापा मगर भइन् । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्थापक अध्यक्ष माया केसी एंवम समाजसेवी रोजिना प्रधान राईले विशेष भूमिका निभाएकी थिईन् । त्यस्तै भेटघाट रेष्टुरेण्टले खाना, मिलन तमुले फोटोग्राफी र विशन गुरुङले भिडियोग्राफीको भूमिका निभाएक थिए भने लण्डन नेपाली न्युजले फेसबुक लाईभ गरेका थिए । राफल ड्र समेत गरिएको कार्यक्रममा सुनिता थापाले रिया मनी ट्रांस्फरले प्रयोजन गरेको प्रथम पुरस्कार सुनको सिक्री प्राप्त गर्न सफल भइन् । आमाकी अध्यक्ष अमिता बेल्बासेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई विभा गुरुङले स्वागत मन्तब्य प्रकट गरेकी थिईन् भने सचिव कल्पना गुरुङले कार्यक्रम संचालन गरेकी थिईन् ।