बेलायतमै निर्माण भएको चलचित्र ‘एटीन’ को ट्रेलर सार्वजनिक बिबिएम संवाददाता लण्डन । बेलायतवासी नेपालीहरुद्वारा निर्मित तथा निर्देशित नेपाली चलचित्र ‘एटीन’ को टिजर तथा पोस्टर सार्वजनिक गरेको छ । गत शनिबार २ जनवरीका दिन लण्डनमा एक कार्यक्रमको आयोजना गरी सो चलचित्रको ट्रेलर तथा पोस्टर सार्वजनिक गरेको हो । प्रमिस भिजनको व्यानरमा निर्माण भएको चलचित्रलाई बेलायतवासी प्रेम लामाले निर्देशन गरेका छन् । नेपालीहरु बेलायतमा स्थायी रुपमा बसोबास गर्न थाले पछि दोस्रो पुस्ता युवायुवतीहरु बेलायतकै संस्कारमा हुर्के बढेका छन् । पहिलो र दोस्रो पुस्ताबीचको जेनेरेश ग्यापलाई उक्त चलचित्रमा प्रस्तुत् गर्न खोजिएको निर्माण पक्षको भनाई छ । उक्त चलचित्रमा बेलायतवासी नेपालीहरुले अभिनय गरेका छन् । जसमा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राई, सनम कुमार वैराग, रितेश चाम्स लगायत रहेका छन् । त्यस्तै नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनले समेत अभिनय गरेका छन् । तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र ‘एटीन’ मा चन्द्र कुमार डोङ र तारा प्रकाश लिम्बुको संगीत, निर्मला घिसिङ र तारा प्रकाश लिम्बुको स्वर, चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठको शब्द, एल .एक्स. पौडेलको ब्याकग्राउण्ड साउण्ड डिजे, किरण राज थापाको सम्पादन, कुशल श्रेष्ठ अरोण अशोक कुमारको छायांकन रहेको छ । यस अघि पनि थुप्रै चलचित्रको निर्देशन गरिसकेका लामाले यस चलचित्रलाई नेपाली समुदाय बेलायतको चित्रण गर्न खोजेका छन् । उक्त चलचित्रको प्रिमियर शो आउँने २४ फेबु्रअरीका दिन ह्यारोस्थित सफारी सेना हलमा गरिने निमार्ण समूहले जानकारी दिएका छन् ।